कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला पश्चिम राबी तिम्रो अझै रक्तधारा धुन्छ होला काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला वीर पुर्खा ! तिम्रो गीत गङ्गाभरि गुंज्छ होला ।
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला वेत्रावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।
नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र वीर पुर्खा ! तिम्रै रगत नेपालीका नसाभर उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि ।